हराइरहेकी महिला मृत भेटिइन, स्थानीय तहवाटै प्रहरीको उजुरी "लडेर प्रहरीको ज्यान गयो "
"लडेर प्रहरीको ज्यान गयो "
रेडियो भैरवी

तपाईको प्रतिक्रिया
विदुर– घरवाट हराइरहेकी नुवाकोटको जफतीकी एक महिला नहरमा डुवेर मृत अवस्थामा फेला परेकी छन् । विदुर नगरपालिका वडा नं. ९ जफतीकी वृद्धा द्धरदेखि नजिकैको नहरमा तीनज दिनपछि मृत अवस्थामा फेला परेकी हुन् ।
गत भदौ ३१ गते राती ९ बजे घरबाट हराइरहेकी ६५ वर्षिया कान्छी मिजारको शव त्रिशूली जलविद्युत गृहका लागि पानी ल्याइएको नहरमा डुवेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनको शव नुवाकोट जिल्ला अस्पतालमा पोष्टमार्टम गरि अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलवहादुर कार्कीले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले वताए ।
स्थानीय तहवाटै प्रहरीको उजुरी
अव सदरमुकामका स्थानीय तहवाटै प्रहरीका गुनासो तथा उजुरी दिन थालिएको छ । नुवाकोट र रसुवाका विभिन्न नगरपालिका तथा गाउँपालिकाको कार्यालयमा प्रहरी कर्मचारीसँग सम्बन्धित कुनैपनि जनगुनासो राख्न पाइने भएको छ ।
बागमती प्रदेश अन्तर्गतका नुवाकोट र रसुवासहितका २८ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि गुनासो तथा सुझाव संकलन पेटिका राखिएसंगै स्थानीय तहवाटै उजुरी हुन थालेको छ । प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका काम कारबाहीको सम्बन्धमा सर्वसाधारणबाट प्राप्त हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी सल्लाह सुझाव अनुरुप प्रहरी सेबालाई परिमार्जन गर्ने उद्देश्यले नुवाकोट र रसुवाका स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राखिएको हो ।
नुवाकोटका लागि विदुर नगरपालिकाको कार्यालय भित्र गुनासो पेटिका राखिएको छ । गुनासो पेटिकाको विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेबकुमार पोखरेलले उद्घाटन गरे । उनले प्रहरीको यो अभियानले सर्वसाधारणलाई महत्व दिएको उनले बताए ।
प्रहरीको विषयमा प्रहरी कार्यालमै पुगेर गुनासो वा उजुरी गर्ने वातावरण नभएको अवस्थामा यसले महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन् । प्रहरीले गरेको काम कारबाहीको विषयमा चित्त नबुझेमा वा सुझाव दिन मन लागेमा नगरपालिकाको कार्यालय परिषरमा राखिएको पेटिकामा लिखित रुपमा राख्न सकिने छ ।
जसले गर्दा नागरिकहरुको सेवामा खटिएका प्रहरीहरुलाई अझ जिम्मेवार र मर्यादित बनाउने पोखरेलले बताए । गुनासो तथा सुझाव संकलन पेटिका स्थापनाको क्रममा नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक तुलबहादुर कार्कीले यसरी संकलन हुने सुझाव, गुनासो वा उजुरी सिधै प्रदेश कार्यालयमा पठाइने बताए ।
नगरपालिका र प्रहरी कार्यालयको रोहवरमा हरेक महिनाको १ गते पेटिका खोलेर त्यहाँ भएको उजुरीलाई सिधै प्रहरीको प्रदेश कार्यालयमा पठाइने उनले जानकारी दिएका छन् । प्रहरीका विषयमा विना हिचकिचाहट केही सुझाव दिन मन लागे वा उजुरी गर्नुपर्न भए लिखित रुपमा दिन उनले नागरिकहरुलाई आग्रह गरेका छन् ।
यसरी प्राप्त भएका उचित गुनासो तथा सुझावलाई कार्यान्वयन पछि त्यसको जानकारी सम्बन्धीत व्यक्तिलाई हुन प्रदेश प्रहरीको आधिकारिक वेवसाईटमार्फत समेत सार्वजनीक गरिने उनले जानकारी दिएका छन् । उजुरी पेटीकामा नागरिकहरुले प्रहरी कार्यालय र प्रहरी कर्मचारीको काम कारबाहीका सम्बन्धमा आफ्नो गुनासो, सुझावका साथै अन्य क्षेत्रमा आवश्यक पहलका लागि प्रहरीसंग राखिएको अपेक्षाहरु समेत राख्न सक्ने छन् ।
अन्य क्षेत्रसंग सम्बन्धीत रहेका गुनासो तथा सुझावहरुलाई आवश्यक सम्बोधनका लागि सम्बन्धीत निकायमा पठाईने एसपी तुलबहादुर कार्कीले बताए । यसैबीच, नुवाकोटको छिमेकी रसुवाको जिल्ला प्रहरी कार्यालयले समेत धुञ्चेमा गुनासो तथा सुझाव संकलन पेटिका स्थापना गरेको छ ।
गोसाइँकुण्ड गाउँपालिकाको कार्यालय स्याफ्रुवेशीमा उजुरी पेटिका स्थापना भएको हो । गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख तथा प्रहरी नायव उपरिक्षक इन्द्रप्रसाद सुवेदी लगायतले संयुक्त रुपमा उजुरी पेटिकाको शुभारम्भ गरे ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ल्याएको सो कार्यक्रम अन्र्तगत नुवाकोट र रसुवाका स्थानीय तहसंगको सहकार्यमा गुनासो तथा सुझाव संकलन पेटिका राखेको हो । बागमती प्रदेश प्रहरी अन्तर्गतका नुवाकोट र रसुवासहित १० वटा जिल्लाहरुमा रहेका एउटा महानगरपालिका, एउटा उपमहानगरपालिका, २५ वटा नगरपालिका र सदरमुकाममा रहेका एउटा गाउँपालिकामा गरी २८ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राखिएको छ ।
सर्वसाधारणबाट प्राप्त गुनासो तथा सुझावलाई तत्कालै सम्बोधन गरी प्रहरी सेवालाई प्रभावकारी एवम् जवाफदेही बनाउने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले गुनासो तथा सुझाव पेटिका सञ्चालन सम्बन्धी कार्ययोजना २०७७ तयार गरी चरणगत रुपमा प्रदेशभरीका सबै स्थानीय तहको कार्यालयमा सुझाव संकलन पेटिका राखिएको हो । स्थानीय निकायहरुमा प्रहरी कर्मचारीहरु सँग सम्बन्धित गुनासो संकलन गरी कार्यान्वयन गर्न पहिलो चरण अन्तर्गत नुवाकोटको विदुर र रसुवाको गोसाईकुण्ड गाउँपालिका ५ स्याफ्रूवेशी स्थित गाउँपालिकाको कार्यालयमा उजुरी तथा गुनासो पेटिका राखिएको हो ।
नुवाकोटको उत्तरी भेगमा रहेको गेर्खुमा लडेर एक प्रहरीको जयान गएको छ । विदुरदेखि २० किलोमिटर उत्तरमा रहेको विदुर नगरपालिका वडा नं. ११ गेर्खुमा वुधवार प्रहरी मृत अवस्थामा फेला परेका हुन् ।
मृत अवस्थामा फेला पर्नेमा प्रहरी जवान स्थानीय ३१ वर्षिय मधु रिमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली लगिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलवहादुर कार्कीले जानकारी दिए ।
काठमाडौ १ नं. गण नक्साल प्रहरी कार्यालय दरवन्दी भई घर विदामा आएका प्रहरी जवान रिमाल खेतमा पानी लगाउन गएको लडेर मृत्यु भएको विषयमा अनुसन्धान भइरहेको कार्कीले वताए । वडाध्यक्ष तोयानाथ तिम्सिनाका अनुसार घटना लगत्तै इलाका प्रहरी कार्यालय चोकदेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
मृतक रिमाल चारदिन अघि विदामा घर आएका थिए । उनी खेतको डिलवाट लडे ज्यान गएको प्रहरीले जनाएको छ ।
२०७७ असोज ६