पिसिआर परिक्षणको दायरा वढाउन माग
देवचन्द्र भट्ट

तपाईको प्रतिक्रिया
नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्माओलीलाई मंगलवार १३ बुँदे ज्ञापनपत्र बुझाएको छ । पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय बिदुर पुगेर नुवाकोटका प्रजिअ द्रोण पोखरेलमार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र पेश गरेका हुन ।
कांग्रेस नुवाकोटका सचिव सुरेन्द्रराज अधिकारीलगायतको टोलीले प्रमुख जिल्ला अधिकारी पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा पिसिआर परीक्षण बढाउन माग गर्दै कोरोना भाइरस रोकथामका लागि गरिएको खर्च नियमित र पारदर्शी बनाउन सरकारसँग आग्रह गरिएको छ ।
‘डेडिकेटेड’ अस्पताल र ‘आइसोलेसन वार्ड’मा भेन्टिलेटर र आइसीयुलगायत अत्यावश्यक स्वास्थ्य पूर्वाधार, उपकरण, सामग्री र जनशक्तिको तत्काल व्यवस्था गर्न ज्ञापनपत्रमार्फत् सुझाव दिइएको छ । काङ्ग्रेस नुवाकोटले उद्योग र व्यवसायमा सम्बद्ध मजदुरहरुको दैनिक गुजाराको वातावरण बनाउनसमेत माग गरिएको छ ।
कोभिड–१९ का कारण अतिप्रभावित भएको कृषि क्षेत्र, उद्योग–व्यवसायलाई जीवित राख्न आवश्यक आर्थिक प्याकेज ल्याउने व्यवस्था गर्न पार्टिले आग्रह गरेको छ । कोरोना बिरुद्धको लँडाईमा अग्रपंक्तीमा खटिनेहरुलाई व्यक्तिगत सुरक्षाको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधीमा तिर्नुपर्ने शुल्क र करमा राहत दिनुपर्ने, विदेशबाट फर्किन चाहनेलाई सहुलियत खर्चमा नेपाल ल्याउनुपर्ने माग गरिएको छ ।
ज्ञापनपत्र वुझ्दै प्रजिअ पोखरेलले सबै पक्षको सुझाव र सल्लाहलाई ग्रहण गर्दै जिल्ला बिपद समितिले काम अगाडि बढाइरहेको बताए । काम गर्ने सिलसिलामा कतिपय कमजोरी भएको भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता जनाउंदै ज्ञापनपत्र केन्द्रमा पठाइएको वताए ।
२०७७ असार २